काठमाण्डौं। नेकपा एमालेले आगामी मंसिर १० देखि पार्टीको १० औं महाधिवेशन गर्ने निर्णय गरेको छ ।
मंगलबार तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बसेको पार्टी स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । यस्तै एमालेले विधान अधिवेशन असोज ४, ५ र ६ गते गर्नेछ । बैठकमा माधव नेपाल पक्ष भनेर चिनिएपछि नेपालले पार्टी फुटाउँदा त्यतातिर नलागेका स्थायी कमिटी सदस्यहरुको पनि सहभागिता रहेको थियो ।
बैठकले पार्टी विवाद मिलाउन गठन भएको कार्यदलमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । जसअनुसार पार्टी संरचना २०७५ साल २ जेठ गते अगाडिको अवस्थामा क्रियाशील हुने ज्ञवालीको भनाइ छ ।
एमालेले १० बुँदे सहमति कार्यान्वयन क्रममा उत्पन्न हुने समस्या समाधान गर्न कार्यदल गठन गरेको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन सिफारिससमेत गर्न सो कार्यदल बनाएको हो ।कार्यदलमा महासचिव ईश्वर पोखरेलसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथाा लेखराज भट्ट रहेको बैठकपछि प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
बैठकपछि एकताको सन्देश दिन पार्टी कार्यालयमा रहेको तुल्सीलाल अमात्यको सालिकअगाडि फोटोसेसन भएको थियो । तस्बिरमा सबै नेताहरू हर्षित मुद्रामा देखिएका छन् । फोटोसेसन गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीको दायाँ र बायाँ क्रमशः उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावल थिए । उनीहरू दुवै माधव नेपालबाट अलग भएर मूलधारमा आएका हुन् ।
आजको बैठकमा माधव नेपाललाई साथ नदिएका रघुजी पन्त, भीम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्यलगायत १० जना स्थायी सदस्य पनि सहभागी थिए।
