काठमाण्डौं । नेपालमा हिन्दु धर्मावलम्वी पुरुषहरुले जन्म संस्कारदेखि मृत्यु संस्कारसम्ममा श्रद्धाका साथ धारण गर्ने जनैको बेग्लै महत्व छ ।

विशेष किसिमको मन्त्र बाचन गरेर बनाइने मौलिक संस्कृति बोकेको जनै चीनबाट आयात हुँदा २ वर्र्ष अघिनै जनै आयात रोकी मुलुकमै बनाउन पर्ने बहस शुरु भएको थियो । तर २ वर्ष पछि पनि आयात रोक्न सकिएको छैन । चिनियाँ नाका गत वर्ष यता बन्द हुँदा स्वदेशी उत्पादन त बढेको छ यद्यपि माग अनुसार नेपालमा आपूर्ति हुन नसक्दा भारतबाट हुने आयात रोक्न सकिएको छैन । अनेकन् कच्चा पदार्थ, ठूला मेशिन आवश्यकता नपर्ने र हातैले तयार गर्न सक्ने बस्तु समेत आयात गर्नपर्नु दुर्भाग्य ठान्छन् मुलुकमा लाखौं मानिस रोजगार नपाउँदा फजुल समय व्यवतित गर्नुपर्ने अवस्था छ तर सामान्य मुलुकभित्रै बन्न सक्ने मालबस्तु समेत आयात गर्नुपर्ने परिस्थिती विद्यमान छ ।

सामान्यतया यन्त्रमा बनाएर बजारमा बिक्री हुने एउटा जनैको मूल्य पाँचरुपैयाँदेखि १० रुपैयाँसम्म पर्छ । घरमै बनाइने जनैको १५ रुपैयाँदेखि २० रुपैयाँसम्म पर्ने गरेको छ । घरमा बनाएको जनैको केही बढी पर्ने भएकाले पनि घरेलु ससाना उद्योग धराशायी भई आयात बढेको हो । सरकारले मुलुकलाई विभिन्न क्षेत्रमा आत्मनिर्भर बनाई व्यापारघाटा कम गरी दुवै छिमेकी देशमा नेपाली उत्पादनको निकासीलाई प्रवद्र्धन गर्ने योजना राखेको छ । किन सफल हुन सकेको छैन आत्मसमिक्षा गर्नु जरुरी छ ।

नेपालमा आयात हुने जनै भारतको बनारसबाट बढी आयात हुने गरेको व्यवसायीहरुको भनाई छ । नेपालमा सरदर वार्षिक १ अर्ब बराबरको जनै आयात हुने गरेको छ । सरकारले आयात प्रतिस्थापन गर्न सकिने वस्तु बृहत् उत्पादन गर्न नसक्दा व्यापारघाटा चुलिँदै गएको छ ।