काठमाण्डौं । कक्षा ११ र १२ का विद्यार्थी र ४० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । 

उनीहरुलाई आजदेखि चिनियाँ कम्पनीको भेरोसेल खोपको पहिलो मात्रा लगाउन शुरु गरिएको हो । काठमाडौंका खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भिड लागेको छ । खोप लगाउने अभियान आजदेखि ६ गतेसम्म सन्चालन हुनेछ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काठमाडौं महानगरपालिकाका सबै वडाबाट खोप लगाइने छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षभन्दा माथिका कक्षा ११ र १२ मा अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने जानकारी दिनुभयो ।

काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य विभागले सूचना जारी गर्दै ४० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई पनि खोप दिइने जनाएको छ । खोप लगाउन परीक्षाको प्रवेशपत्र र उमेर खुल्ने कागजात देखाउनु पर्नेछ ।००००