काठमाडौ । जसपा नेपालको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्ने तयारी गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदले मंगलबार सिफारिस गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेसँगै महन्थ ठाकुर पक्षले दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी गरेको हो ।
ठाकुर पक्षले पार्टीको नाम जसपा लोकतान्त्रिक नेपाल र चुनाव चिह्न साइकल राख्ने निर्णय गरेको छ। यस्तै पार्टी केन्द्रीय कार्यकारिणी समितिमा २३ र २४ जना गरी दुईवटा प्रस्ताव तयार पारेको छ।
जेलमा रहेका रेशम चौधरीले आफ्नो नाम राख्ने विषयमा सहमति जनाएपछि २४ जनाको केन्द्रीय कार्यकारिणीको एउटा र उनी सनाखतमा उपस्थित नभएको खण्डमा २३ जनाको केन्द्रीय कार्यकारिणी बनाउने गरी दुईवटा प्रस्ताव तयार भएको नेता अकबाल मियाले जानकारी दिनुभयो । चौधरी जसपाको आधिकारिकता पाएको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिमा पनि रहनुभएको छ ।
ठाकुर पक्ष अहिले केहीबेरमा दल दर्ताका लागि निर्वाचन आयोग जाने मियाले बताउनुभयो ।
