काठमाण्डौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा मूल्यवृद्धिदर साढे ६ प्रतिशत कायम गर्ने लक्ष्य तय गरेको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्दै स्वदेशमा र विदेशमा मूल्य वृद्धिमा दबाब परिरहेको परिदृश्यलाई मध्यनजर गर्दै यस वर्ष मूल्य वृद्धिको लक्ष्य वृद्धि गरेको जानकारी दिनुभयोे ।
उहाँले कोरोना महामारीबाट प्रभावित उद्योग–व्यवसायलाई पुनरुत्थान गर्न ल्याइएको पुनर्कर्जाको विद्यमान व्यवस्थालाई चालु आर्थिक वर्ष २०७८÷७९ मा समेत निरन्तरता दिइएको जानकारी दिनुभयो । मौद्रिक नीतिमा गत आवमा दिइएको रकमको अधिकतम सीमा ननाघ्ने गरी योवर्ष समेत त्यसलाई निरन्तरता दिने निर्णय भएको हो । पुनर्कर्जा लघु, घरेलु, साना तथा मझौला उद्यम–व्यवसायले प्राथमिकताका आधारमा पाउने भएका छन् । उता, कोरोनाको कारण संकटग्रस्त उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, व्यायामशाला, सिनेमा उद्योगलगायत व्यवसाय पुनरुत्थानका लागि व्यवसाय निरन्तरता कर्जा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने मौद्रिक नीतिमा उल्लेख छ ।
यस्तै विदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा एक प्रतिशत थप ब्याज दिइने भएको छ । गभर्नर अधिकारीले बैंकिङ च्यानलबाट आएको रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा राखेमा थप एक प्रतिशत ब्याजदर दिने व्यवस्था गर्ने बताउनुभयो । यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कायम गर्नु पर्ने सीसीडी अनुपात खारेज गरेको छ ।
गभर्नर अधिकारीले वास्तविक कृषि व्यवसायीलाई २० लाख रुपैयाँसम्म कृषि व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने कर्जालाई विपन्न वर्गको कर्जामा गणना गर्ने व्यवस्था गरिने पनि बताउनुभयो । उहाँले कोभिड १९ कारण पर्यटन क्षेत्रमा रोजगारी गुमाएका व्यक्ति स्वरोजगार हुनेगरी व्यवसाय सञ्चालन गर्न प्रवाह हुने १५ लाखसम्मको कर्जा विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था मिलाइने बताउनुभयो । ऋणी स्वयम् रोजगार हुनेगरी सवारी साधन खरिद गर्न २५ लाखसम्मको कर्जालाई विपन्न बर्गको कर्जामा गणना गर्न सक्ने व्यवस्था पनि मौद्रिक नीतिमा रहेको छ । महिला उद्यमीद्वारा लघुउद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने २० लाखसम्मको कर्जालाई विपन्न बर्गको कर्जामा गणना हुने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।००००
यस्तो छ नीतिको पूर्णपाठ
