काठमाडौं । कोरोना महामारीको कारण लगातार अनलाइन कक्षामा बस्दा बिश्वका बालबालिकाहरुको आँखा कमजोर हुँदै गएको एक अध्ययनले देखाएको छ ।

बेलायतबाट प्रकाशित हुने एक पत्रिकाले हालै प्रकाशन गरेको शोधका अनुसार अनलाइन कक्षाको लागि बालबालिहरु विद्युतीय उपकरणहरुमा घण्टौं बस्नुपर्ने भएकाले उनीहरुको आँखामा असर पर्नुका साथै दृष्टीशक्ति पनि कमजोर हुँदै गएको पत्ता लागेको हो । 

हङकङमा ६ वर्षदेखि १२ वर्ष उमेर समुहका बालबालिकामा गरिएको अध्ययनमा १९ प्रतिशत बालबालिकाको हेर्ने शक्तिमा ह्रास आएको देखिएको छ । साथै बैज्ञानिकहरुले आगामी ३ दशकमा उक्त संख्या ७ गुणाले बढ्ने अनुमान गरेका छन् ।

 कोरोनाका कारण दिनभर घर बस्न बाध्य बालबालिका पछिल्लो समय टीभी र स्मार्ट फोनमा ब्यस्त हुन थालेकाले नजिकको भन्दा टाढाको देख्ने शक्ति कमजोर भएको प्रतिबेदनमा उल्लेख छ ।