काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालनमा रहेको परीक्षा स्थगित नहुने जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविको परीक्षा स्थगित नहुने जानकारी दिनुभएको हो । 

हाल त्रिविमा सबैजसो संकायको स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेको छ । स्नातक तह प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा शुक्रबारनै सकिएको छ भने विज्ञान र शिक्षा संकायका परीक्षा आइतबार सकिनेछ । 

त्यसपछि मानविकी तथा सामाजिक संकायको मात्र परीक्षा बाँकी रहने परीक्षा नियन्त्रक जोशीले बताउनुभयो । परीक्षा दिन बाँकी विद्यार्थी थोरै रहेको र लामो समयसम्म परीक्षा नभएका कारण स्वास्थ्य मापदण्ड अपनाएर ती परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । 

कोरोना महामारी फेरि बढ्न थालेको भन्दै आज राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।