काठमाडौं । कक्षा १२ को परीक्षा स्थगित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा सिसिएमसीले परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको थियो ।
बोर्डको शनिवार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले आगामी साउन ३१ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा गर्ने गरी तयारी गरेको थियो ।
गत जेठ २६ गतेबाट गर्ने भनिएको परीक्षा लकडाउनका कारण स्थगित भएको थियो । त्यसपछि बोर्डले साउन ५ गते एक सूचना प्रकाशन गर्दै साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्ने जनाएको थियो ।
तर तीन लाख ८६ हजार विद्यार्थी एकैपटक परीक्षा दिँदा विद्यालयहरूमा भिडभाड बढ्ने र त्यसले सङ्क्रमणलाई झनै बढाउने भन्दै परीक्षा तत्कालै स्थगन गर्न विभिन्न सरोकारवाला निकाय र अभिभावकले आग्रह गरेका थिए ।
