काठमाडौं। सत्तारूढ गठबन्धनको कार्यदलले स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको अनियमितताको छानबिन गर्न प्रस्ताव गरेको छ ।  

गठबन्धनले आज प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेतालाई बुझाएको साझा न्यूनतम कार्यक्रममा ‘कोरोना संक्रमण नियन्त्रणका लागि खरिद गरिएको स्वास्थ्य सामग्रीमा अनियमितता गर्नेहरूमाथि कारबाही गर्ने’ उल्लेख गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषीउपर कानुनी कारबाही गर्न माग गरेको हो ।

साझा न्यूनतम कार्यक्रममा आगामी असोजसम्ममा एक तिहाइ नागरिकलाई र चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबै नेपालीलाई निःशुल्क खोपको व्यवस्था गर्ने उल्लेख गरिएको छ । खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने पनि कार्यक्रममा समावेश छ । यस्तै कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि अस्पताल लगायत भौतिक पूर्वाधारको विकासमा प्राथमिकता दिने उल्लेख गरिएको छ।