काठमाडौं । इजरायलमा केयरगिभर रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो ।विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार इजरायलबाट एक हजार केयरगिभरका लागि माग आइसकेको बताउदै सामान्य अवस्था रहेमा अबको एक÷डेढ हप्ताभित्र विज्ञापन खुल्ने जानकारी दिनुभयो ।

मागअनुसार विज्ञापन गर्न इजरायलसँग अन्तिम स्वीकृतिको अनुुमतिको माग गरिएको र स्वीकृति प्राप्त हुनासाथ विज्ञापन गरिने उहाँले बताउनुभयो ।महानिर्देशक दवाडीले इजरायल र नेपालबीच भएको समझदारीमा पहिलो चरणमा पाँच सय जना मात्रै प्रशिक्षार्थी लैजाने भनिएकाले विज्ञापन गर्दा एक हजारको गर्ने कि पाँच सय भन्ने टुङ्गो नलागेको बताउनुभयो । विभागले विज्ञापन खुलाउन आएको मागअनुसार नै खुलाउन अनुमति माग्ने तर सबै टुङ्गो पनि विज्ञापनको अनुमतिपत्रमै आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । केयरगिभरमा इजरायल जानका लागि २१ दिनको म्याद राखेर आवेदन खुल्ने र तोकिएको योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने उहाँले बताउनुभयो ।

नेपाल र इजरायल सरकारबीच बीच २०७७ असोज १४ गते नेपाली श्रमिक इजरायल पठाउने विषयमा श्रम सम्झौता सम्पन्न भएको थियो ।