सिन्धुली। जिल्ला ट्राफिक कार्यलय सिन्धुलीले आर्थिक वर्ष २०७७/०७८ को राजश्व सार्वजनिक गरेको छ । बिहीबार आर्थिक वर्ष २०७७/०७८ अन्तिम दिन आज जिल्ला ट्राफिक कार्यलय सिन्धुलीका प्रमुख कृष्ण क्षेत्रीले राजश्व सार्वजनिक गरेका हुन्।

ट्राफिक प्रमुख क्षेत्रीका अनुसार सिन्धुलीमा ट्राफिकबीट स्थापना यताकै उच्च राजश्व सङ्कलन भएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ३२ हजार ७ सय सवारी साधन कारबाहीबाट ३ करोड १५ लाख ४० हजार ५ सय राजश्व सङ्कलन भएको उनले बताए। आर्थिक वर्ष २०७६/७७ मा १३ हजार २ सय ५० सवारी साधन कारबाहीमा परेका थिए जसबाट १ करोड ८ लाख २१ हजार ५ सय राजश्व सङ्कलन भएको थियो।

आर्थिक वर्ष २०७५/७६ मा १७ हजार ७ सय २२ सवारी साधन कारबाहीमा पर्दा १ करोड २० लाख ४८ हजार राजश्व सङ्कलन भएको जनाइएको छ। आर्थिक वर्ष २०७७/७८ मा अघिल्ला वर्षहरुमा भन्दाबढी सवारी दुर्घटना भएका छन्। यस आर्थिक वर्षमा २ सय १९ सवारी दुर्घटनामा परेका हुन्। जसबाट ३५ जनाको मृत्यु, १ सय ९६ जना गम्भिर घाइते र २४ जना सामान्य घाइते भएको प्रमुख क्षेत्रीले बताए। त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा ६६ वटा सवारी साधन दुर्घनामा परेका थिए। जसबाट ३४ जनाको मृत्यु भएको थियो भने, ७१ जना गम्भिर घाइते र ५१ जना सामान्य घाइते भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा ६८ वटा सवारी साधन दुर्घनामा परेका थिए । जसबाट ४४ जानको मृत्यु भएको थियो भने ६९ जना गम्भिर घाइते र ८९ जना सामान्य घाइते भएका थिए।

त्यस्तै यस आर्थिक वर्षमा बढी भाडा असुल्ने १ सय ८ वटा सवारी साधनलाई कारबाही गरिएको छ। उक्त सवारी साधनले यात्रुको बढी भाडा असुलेको ६ लाख ८७ हजार ६ सय १५ रुपैया फिर्ता गरी यात्रुलाई फिर्ता गरिएको प्रमुख क्षेत्रीले बताए। बढी भाडा असुल्ने उक्त सवार साधनबाट ३ लाख २७ हजार राजश्व सङ्कलन भएको उनले बताए । आर्थिक वर्ष २०७७/०७८ मा प्रहरीको नियम बिपरित सञ्चालन भएका सवारी साधनलाई कारबाही गर्ने खोज्दा घुस दिन खोज्ने १५ वटा सवारी साधनलाई कारबाही गरिएको उनले बताए। जसबाट नियमअनुसार २१ हजार ५ सय राजश्व सङ्कलन गरिएको जनाईएको छ। जिल्लामा अप्रिय घटना घटाउनका लागि सवारी चेकजाँचमा कडाई गरिएको प्रमुख क्षेत्रीले बताए । उनका अनुसार विद्यार्थी, समुदाय, चालक, सर्वसाधारणलाई सचेतना मुलक कक्षा सञ्चालन गरिएको थियो।