सिन्धुली। घ्याङलेख गाउँपालिकाले कृषि विकास शाखाको आ.व. २०७७/७८ को पकेट विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत लागत साझेदारिमा रकम हस्तान्तरण गरेको छ। घ्याङलेख गाउँपालिकाको विभिन्न कृषि समुहलाई शाखाको अदुवा र तरकारि पकेट विकास कार्यक्रम अन्तर्गत कृषकलाई आज उक्त रकम हस्तान्तरण गरिएको हो।
गाउँपालिकाका अध्यक्ष जगत भोलन तथा उपाध्यक्ष दुर्गादेवी सुनुवारलले पालिकाको ४ वटा कृषि समुहलाई रकम प्रदान गर्नु भएको हो। जस अन्तर्गत अदुवा पकेट विकास कार्यक्रमका लागि वडा नं. -२, को श्री नवजागरण चन्दनपुर कृषक समूहलाई ५ लाख ६२ हजार ९९ रुपैयाँ, वडा नं. -१ को प्रगतिशिल कृषक समुहलाई ५ लाख ६२ हजार, वडा नं.-२, को गणेशटार कृषक समुहलाई ५ लाख ७८ हजार ६ सय रुपैयाँ प्रदान गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत किशोर वाइबाले बताए।
त्यस्तै वडा नं. -४ को नेत्रकाली कृषि सहकारि संस्थालाई तरकारि पकेट विकास कार्यक्रमको लागि ५ लाख ७८ हजार ६ सय प्रदान गरिएको उनले बताए। कृषि समुह तथा सहकारिले पकेट विकास कार्यक्रमको लागि गाउँपालिकाको सरह रकम लगानी गरी उत्पादन गर्नुपर्ने प्रावधान रहेको गाउँपालिकका अध्यक्ष जगत भोलनले बताए। गाउँपालिकाको कृषि उत्पादनमा वृद्धि गरी स्थानीयको आर्थिक स्थिति उकास्ने उद्देश्यले कृषकलाई पकेट विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत लगानीमा रकम हस्तान्तरणा गरिएको अध्यक्ष भोलनले बताए।