सिन्धुलीमाढी। कमलामाई नगरपालिकाले नगरका २२ जना अगुवा कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । आज नगरभित्रका १४ वटै वडाका कृषि समुह,सहकारी तथा व्यवसायी कृषक गरि २२ जना कृषकलाई एक-एक वटा हाते ट्याक्टर वितरण गरिएको हो।
नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख तथा कमलामाई नगरपालिकाका कृषि संयोजक मन्जु देबकोटाको अध्यक्षतामा एक औपचारिक कार्यक्रमबीच ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरिएको हो। नगरलाई कृषिमा आधुनिकरण बनाउने उद्देश्यले अगुवा कृषकहरुलाई ट्याक्टर वितरण गरिएको नगर प्रमुख खत्रीले बताए । खन्ने, जोत्ने गरिरहँदा कृषकलाई समयको खर्च हुने भएकाले सहज तरिकाले व्यवसाय गर्नेको लागि नगरपालिकको ५० प्रतिशत र कृषको ५ं० प्रतिशत अनुदानमा ट्याक्टर प्रदान गरिएको उनले बताए ।
कमलामाई नगरपालिकामा विभिन्न किसिमको कृषि व्यवसाय गरिन्छ । नगरमा कृषि उत्पादनमा वृद्धि गर्नेका लागि नगरपालिकाले कृषकलाई सहयोग गरेको नगर उपप्रमुख देबकोटाले बताइन् । उनले कृषिमा नगर निर्भर बनाउनका लागि नगरपालिकाले आगामि वर्षेमा पनि यस्ता कार्यक्रम ल्याइने बताए । हाते ट्याक्टरका लागि नगरले डेण्डर आह्वान गरेको थियो । उक्त टेण्डर मार्फत प्रति ट्याक्टर ५७ हजार ५ सय परेकोमा कृषकले २८ हजार ७ सय ५० रुपैया भुक्तानि गर्नुपरेको नगरपालिकाका कृषि शाखाका प्रमुख सरोज फुयाँलले बताए ।