सिन्धुलीमाढी। मरिण गाउँपालिका सिन्धुलीले आज आर्थिक वर्ष २०७८,७९ को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले नयाँ आर्थिक वर्षको लागि ५३ करोड ४० लाख २५ हजार बजेट सार्वजनिक गरेको हो।
मरिण गाउँपालिकाले यो वर्ष बागमती प्रदेशको पालिकाहरू मध्ये नयाँ आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्ने पहिलो स्थानीय तह रहेको छ। असार १० गतेसम्म नयाँ आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरिसक्नु पर्ने निति रहेको छ। मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले आज नै नवौँँ गाउँसभा तथा वर्ष अधिवेशन प्रस्तुत गरेका थिए। गाउँसभाबाट नवौँ अधिवेशन पारित भएपछि आज नै पालिकाले बजेट सार्वजनिक गरेको हो।
आज मरिण गाउँपालिकाका उपाध्यक्ष संगिता माझिले बजेट भाषणबाट आर्थिक विकास तर्फ २ करोड १३ लाख ५ हजार, सामाजिक विकास तर्फ ६ करोड ९५ लाख ६७ हजार ७ सय, पूर्वाधार विकास तर्फ २ करोड ९२ लाख ५ हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ७७ लाख ५० हजार र संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ ५ करोड ६१ लाख बिनियोजन गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष बम्जनले शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रमा विशेष प्राथमिकताका साथ बजेट बिनियोजन गरिएको बताए , शिक्षाको गुणस्तर सुधारको लागि शिक्षा विकास योजना अनुरुप विद्यालय भौतिक सुधार, शैक्षिक गुणस्तर सुधार, बाल विकास केन्द्र व्यवस्थापन, शिक्षक तालिम, विद्यालय व्यवस्थापनलाई प्राथमिकतामा राखि ३ करोड ८३ लाख ५ हजार ७ सय रुपैयाँ बजेट बिनियोजन गरिएको छ। गाउँपालिकालाई कृषिको व्यवसायिकरण र आधुनिकरण गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्यान्न, दुध र मासुमा आत्मनिर्भर बनाउनका लागि कृषि तथा पशु कार्यक्रम सञ्चालनका लागि १ करोड १८ लाख ५ हजार रुपैयाँ बजेट बिनियाोजन गरिएको छ।
त्यस्तै पालिकाले कोभिड १९ साथै अन्य रोगको विपद् व्यवस्थापन तथा न्यूनिकरणका साथै आधारभुत स्वास्थयमा सबैको पहुँच तथा गुणस्तर स्वास्थ्य सेवा प्रवाहको लागि १ करोड ३७ लाख ७२ हजार बजेट बिनियोजन गरिएको छ। आगामी आर्थिक वर्ष २०७८/७९ को लागि चालू खर्च तर्फ १५ करोड ५८ लाख ५९ हजार, पूँजिगत खर्च तर्फ १० करोड ७९ लाख ५० हजार, सशर्त अनुदान तर्फ २० करोड ७१ लाख ७५ हजार, समपुरक अनुदान तर्फ ३ करोड ४० लाख र विशेष अनुदान तर्फ १ करोड ९१ लाख गरी गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि ५२ करोड ४० लाख २५ हजार बजेट ल्याएको छ।
