सिन्धुलीमाढी। नेपालमा केही दिनदेखि सक्रिए मनुसुनका कारण देशको विभिन्न ठाउँमा बाढी पहिरोको कारण धनजनको क्षती भइरहेको बेला सिन्धुली जिल्ला पूर्वतयारीमा जुटेको छ।
बाढी पहिरो प्रभावितलाई राहत पूर्वतयारीका लागि सामाजिक अभियन्ता उज्ज्वल विक्रम थापाको अगुवाइमा स्वाभिमान सिन्धुली अभियानअन्तर्गत सिन्धुलीमा १ सय ५१ बोरा राहत प्याकेज जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुलीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी सुरेन्द्र न्यौपानेमार्फत नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखालाई आज प्राप्त भएको छ। राहत खाद्य सामग्री सिन्धुली अस्पतालका अध्यक्ष प्रलाद कुमार पोखरेल तथा अभियान्ता इन्द्र भुजेलबाट जिल्ला विपद् व्यवस्थापन समिति मार्फत हस्तान्तरण गरिएको हो।
रेडक्रसले विपद्बाट प्रभावित परिवारहरुलाई बन्दोबस्तीका (गैह्र खाद्य) सामग्री नियमित रुपमा प्रदान गर्दै आइरहेकोमा यस वर्ष खाद्य सामग्रीसमेत प्याकेजको रुपमा पठाइने गरी तयारी थालेको छ । उक्त खाद्य सामग्री प्याकेजभित्र चामल १० केजी, चना २ केजी, दाल १.५ केजी, नुन १ प्याकेट, मस्यौरा १ प्याकेट र खानेतेल ५०० मिलिको १ प्याकेट रहेको छ।
रेडक्रस सिन्धुलीका सभापतिले मानवीय सेवाका लागि स्वाभिमान सिन्धुली अभियानका अगुवा तथा सामाजिक अभियन्ता उज्ज्वल विक्रम थापा, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलगायत अभियानमा संलग्न सबै सहयोगी हातहरुलाई आभार प्रकट गरेका छन्।
