तस्विर: संगिता डिम्दोङ

म आज सँधै झैँ खाना खाएर भाँडा माझ्दै थिँए धारामा । दुई जना बच्चा घर अगााडिकै रोड बाट जाँदै थिए । हेर्दा मैलो कपडा लगाएका। मैले खासै चासो देखाइन । कसैको बच्चा होला बाआमा पछाडि होलान् उनीहरू अगााडि आएछन् भनेँ । दुबै बच्चा करिब तीन घण्टापछि फेरी त्यही बाटो फर्किए । कतै गएर आएको होलान् भनेर यो बेला पनि मैले खासै चासो लिइन । 

अर्को दिन त्यहि बाटो हूँदै एउटा बुद्ध बाले उनीहरूलाई लिएर गएको देखेँ । फेरी ३ घण्टामा उनीहरू फर्किए । ४ चोटिसम्म ती बृद्धले पुर्‍याईदिने ती बच्चा फेरी फर्केको देखेपछि मलाई अनौठो लाग्यो । 

दुबै जना बच्चा फर्किएर खेल्दै बाटोमा हिँडिरहेका थिए । यो चोटि मलाई नबोलाई बस्न मनले मानेन । मेरो घर भन्दा अलि तलै पुगीसकेका थिए । म उनीहरू भएको नजिकै गए । मैले सुरुमा ती बच्चालाई नियालेर हेरेँ । उनीहरूले पनि मलाई हेरिरहे । ६ वर्ष जतिकी बालिका अनि ३ वर्ष जति उमेरको बालक । मैले सोधिँहाले कता हिँडेको नानी भाईलाई लिएर? मैलो कपडा, तातो घामले पोलेको कालो शरीर दुबैजनाको । भाईको गोडामा चपल थियो दिदीको गोडामा चप्पल पनि थिएन । दिदीको गोडामा काँडामा घोेचेको रैछ क्यारे बसेर गोडा मसार्दै भनि “मावलो हिँडको दिदी ।”

कता गएर आएको मैले फेरी सोधे ? घरबाट भन्ने उत्तर दिएपछि फेरी भाईलाई अघि लाएर हिँड्न खोजे । मैले आउन बस शितलमा भनेर कुरा गर्न लागेँ । चार चोटि भैसक्यो किन ओहोरदोहोर गरेको नानी? अनि तिम्रो नाम, भाईको नि भनेर सोधिँहाले ? उनले भनि म शुशिला बिक अनि भाईको नाम सन्देश । “माथि ढाँडे हो हाम्रो घरमा आमाले तेरै मावलो जा भनेर पठाए अनि आको एता बुढा हजुरबाले पनि तेरै घरमा जा भनेर घर मुनि लगेर छोडेका थिए । हामीलाई उहाँबाट फेरी किन आको भनेर मावलो नै फर्काइदिए।” उसले सरासर बोलेर रोकिन् ।

मलाई एकदमै अचम्म लाग्यो । ढाँडे भन्ने ठाउँ कमलामाई नगरपालिका वडा नं. -२ मा पर्छ । अनि उनीहरूको माओलो कमलामाई नगरपालिका -४, बरालीमा। ठूलै मान्छे हिँडेर जाँदा ढाँडे भन्ने ठाउँ उकालो जङ्गलको बाटो डरमर्दो छ । त्यसमाथि ती साना बच्चा कसरी ओहोर दोहोर गर्न सक्लान् । तीन वर्षको भाई डोराएर तीन दिनदेखि त्यहि बाटो शुशिला ओहोरदोहोर गरिरहेकी थिइन् ।

आमा र बाबाको सम्बन्ध राम्रो थिएन बाबा कहाँ छन् अत्तोपत्तो छैन । आमा काठमाडौं बस्दै आएका रहेछन् । “ठुलो दाई मधेसमा बस्छन् अनि अर्को दिदी घरमा काम गर्छन् ।  हामी काम गर्न सक्दैनौ हामीलाई घरमा मावलोमा पनि गालि गर्छन् । घर बाट मावलो जा भन्छन् । अनि मावलो बाट घर जा भन्छन् ।”

मन मिलेर सम्बन्ध जोडिन्छ । बच्चा पैदा हुन्छ । अनि मन नमिलेपछि सम्बन्ध तोडि दिन्छन् । आखिर ती अबोध बालबालिकाको के दोष ?