सिन्धुलीमाढी।

तपाई लकडाउनमा के गदैँ हुनुहुन्छ ?

विश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट सहितको संक्रमण बढेसँगै सिन्धुलीमा पनि लकडाउन गरियो । सिन्धुलीमा बैशाख २२ गतेबाट लकडाउन गरिएको हो।
शैक्षिक संस्था, व्यवसाय, कलकारखना, पसल ठप्प छन् । प्राय मानिसहरू यो समयमा  फेसबुक, टिकटक सामाजिक सञ्जालमै ब्यस्त भएका छन् । तर कृषक राजकुमार श्रेष्ठलाई भने यो लकडाउनमा पनि फुर्सद नै भएन ।

कममाई नगरपालिका -४ का स्थानीय राजकुमार श्रेष्ठको दैनिकि बाख्राको स्याहार सुसारमै बितिरहेको छ। बाख्रालाई दानापानी खुवाउने, चराउने, सरसफाइ गरेरै  श्रेष्ठ लाई फुर्सद छैन । २ वर्ष अघि उनले रायडिमा ३१ कठ्ठा जमिन लिजमा लिएर एन्जल बाख्रा फर्म दर्ता गरेर बाख्रा पालन सुरु गरेका हुन् ।

त्यतिबेला २० लाखमा एउटा अष्ट्रेलियन बोयर जातको बोकासहित ६० वटा बाख्राबाट व्यवसाय सुरु गरेका थिए। अहिले उनको खोरमा जमुनापारी जातको सानाठुला गरी १ सय २० वटा बाख्रा रहेका छन् । ४० वर्षिया श्रेष्ठ १६ वर्ष नेपाली सेनामा जागिर खाएका निवृत्त व्यक्ति हुन् ।

उनले भने “१६ वर्षसम्म नेपाली जनताको सेवा गरेँ नेपाल आर्मीको नामले परिचित भए, जागिरबाट रिटाएर भइपछि आफुसँगैको कति साथि त विदेश गए तर मलाई विदेश जाने रहर लागेन। आफ्नै ठाउँमा केही गर्छु भनेर बाख्रा पालन व्यवसाय रोजेको हुँ ।”

धेरैले बाख्रा पालन गर्नु ठीक छैन भने पनि आफ्नै जिद्धिले बाख्रा पालन सुरु गरेको बताए । एउटा तालिम बाट पुरानै ढाँचामा बाख्रा पालन गर्दा बाख्राँमा आम्दानी लिन सकिदैन भन्ने थाहा पाएपछि उनले आधुनिक खोर निर्माण गररे आधुनिक किसिमको बाख्रा पालन सुरु गरेको बताए । बाख्राबाट ३ वर्षसम्म लगानी उठाउनै लाग्ने बताउँदै २ वर्षमा १२ लाख आम्दानी लिइसकेको श्रेष्ठले बताए। लकडाउनमै पनि उनले ६ वटा बोकाबाट १ लाख २० हजार आम्दानी लिएको बताए ।

उनले भने “अझै ५० ओटा जति बोकापाठि बिक्रिका लागि तयार भइसकेका छन् । तर लकडाउनले गर्दा बिक्रि गर्न असहज भएको छ। ” स्थानीय रुपमा मात्रै सबै बिक्रि नहुनेभएकाले बाहिरबाट अडर गरेपनि लकडाउनले गर्दा सम्भव नभएको उनले गुनासो गरे। श्रेष्ठले ४ जना युवकलााई पनि रोजगार प्रदान गरेका छन्। स्थानीय ४ जना युवकलाई मासिक १५ हजारका दरले रोजगारी प्रदान गरेका बताए । (जनचासोका सिन्धुली सम्वाददाता संगिता डिम्दोङसँगको कुराकानीमा तयार गरिएको।)