युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद नीति परिमार्जनका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आज आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उहाँले पुरानो नीतिका कारण खेलकुद क्षेत्रको विकास सोचजस्तो हुन नसकेकाले नीति परिमार्जनका लागि मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो ।

“नीतिलाई माथि राखेर काम गर्नसके खेलाडीको अधिकार संरक्षण हुन्छ”, उहाँले भन्नुभयो । व्यक्ति केन्द्रित नीतिभन्दा पनि खेलकुद केन्द्रित नीतिको विकास अहिलेको आवश्यकता रहेको उहाँको भनाई थियो । उहाँले अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुरुप काम गर्नसके ओलम्पिक कमटीको जिम्मेवारी धेरै रहेको उल्लेख गर्नुभयो । ओलम्पिक कमिटीले खेलमार्फत कुटनीतिक विकासका क्षेत्रमा काम गर्नुपर्ने उहाँको भनाई थियो । मन्त्री श्रेष्ठले खेलकुदमार्फत युवाको निराशालाई कम गर्दै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले अस्थिरताका कारण नेपालको खेलकुद क्षेत्रलाई परिणाममुखी बनाउन नसकेको बताउनुभयो । उहाँले ओलम्पिक कमिटीले खेलकुदमार्फत नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्दै आएको उल्लेख गर्नुभयो ।