सिंहदरबारको पश्चिम ढोकातर्फ,
धरहराको पूर्वपट्टी,
टुडिखेलको दक्षिणतिर,
र जंगी अड्डाको उत्तर पश्चिमतर्फ,
अवस्थित ए सहिदगेट,
आज सहिद दिवसको दिन,
तिमीलाई एउटा यक्ष प्रश्न छ !

देशदेश भन्दै राष्ट्रियताको पक्षमा,
जनता जनता भन्दै जनजीविकाको पक्षमा,
देश र जनताकै सर्वोत्तम हितमा,
इतिहासदेखिको अथकित मुक्ति आन्दोलनमा,
इतिहासको विभिन्न कालखण्डहरूमा उदाएका,
श्रृङ्खलावद्ध सूर्यका किरण सहिदहरू,
संसारका ज्योती अमर सहिदहरू,
अन्यात, अत्याचार र थिचोमिचो विरुद्ध,
शंखनाद गरेकै थियौ र विगुल फुकेकै थियौ,
शोषण, दमन, विभेद र उत्पिडन विरुद्ध,
युगीन धावा बोलेकै थियौ,
अन्धकार र अध्यारोको साम्राज्यसित,
अगणित विद्रोह गरेकै थियौ,
बारबार देश र जनताको सपना देखेकै थियौ,
पाठसालाहरूमा नागरिक अधिकारको पाठ पढाएकै थियौ,
हाँसिहाँसि प्राण आहुति गर्दै,
बलिदानी कथाको जगमा,
राष्ट्रियताको झण्डा सगरमाथामा फहराएकै थियौ,
स्वाधिनता र स्वतन्त्रताको युगीन गीत गाएकै थियौ ।

त्यसैले सहिद सप्ताहमा,
सहिद दिवसको अवसरमा,
अजर अमर सहिदकै सपनामात्रै सजाएको छु,
जताततै सर्वत्र सहिदै सहिद देखिरहेको छु ।

व्यक्तिगत र पारिवारिक स्वार्थका पोकाहरूलाई,
एकोहोरो तिलाञ्जली दिएका,
अठोट र साहसको चीरस्थायी सपूतहरू,
जनजनका प्रेरणाका स्रोतहरू,
मनमनका संकल्पका सगरमाथाहरू,
वर्तमान र भविष्यका पथप्रदर्शक द्रष्टाहरू,
अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरू,
तिम्रा आदर्श र मूल्यहरू शिरोधार्य गर्दै,
सहिद दिवसका दिन सहिदगेटमा आएर,
भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दैछु । 

सहिदका सालिकहरू सजाएका,
ए सहिदगेट!
किन प्रश्नहरू सोध्दैनौ?
व्यक्तिवादी हुँदै गएको दुनियाँसित,
किन उत्तरहरू माग्दैनौ?
अवसरवादी हुँदै गएको समाजसित,
तिमीलाई हरेक दिन दाँयाबाँया पारेर,
अत्याधुनिक मोटरमा गुड्ने शासकहरूसित।

किन सोध्दैनौ सहिदगेट?
कहाँ छन् भनेर सहिदका आदर्शहरू?
तिमीलाई बीचमा राखेर,
हिड्ने बटुवा र यात्रुहरुलाई,
किन सम्झाउदैनौ? 
सहिदका रगतका मूल्यहरू?

-लेखक सुनुवार ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।