बहत्तर वर्षका वृद्धले जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिनुभएको छ । मेल्लेख गाउँपालिका–७ का ७२ वर्षीय डम्बर साउदले आज जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिनुभएको हो । 

साउदलाई प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नागरिकता हस्तान्तरण गर्नुभएको थियो । रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा बस्दै आएका साउदले हालसम्म नागरिकता लिनुभएको थिएन । बुढेसकालमा भए पनि नेपाली नागरिक हुन पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । 

लामो समयदेखि नागरिकता नबनाएको कारण उहाँका छोराछोरीले समेत नेपाली नागरिकता पाएका छैनन् । उहाँले भन्नुभयो, “ढिलै भएपनि नागरिकता पाएको छु, अब छोराछोरीले पनि नेपाली नागरिक बन्न पाउने भए ।” अछाम जिल्लाका धेरैजसो नागरिक रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा जाने गरेका छन् । 

आवश्यक कागजातसमेत नबोकी वृद्ध अवस्थामा नागरिकता बनाउन आउनेको सङ्ख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी पोखरेले बताउनुभयो । पछिल्लो समययता कर्मचारी अभावमा समेत जिल्ला प्रशासन कार्यालय अछामले आधा घण्टामै सेवा प्रदान गर्न थालेको छ । 

जिल्ला प्रशासन कार्यालयमा आएका सेवाग्राहीलाई ३० मिनेटमै सेवा प्रदान गर्न थालेपछि प्रशासनमा लाग्ने भीडसमेत कम भई सेवाग्राहीलाई सहज हुन थालेको छ । अछाम प्रशासनमा सेवा लिन आउने सेवाग्राहीले आवश्यक कागजात भएमा ३० मिनेटमै सेवा प्रदान गरेर पठाउने गरेको प्रजिअ पोखरेलले बताउनुभयो । 

३० मिनेटमै सेवा पाउन थालेपछि अछामका ग्रामीण भेगबाट आउने सेवाग्राही निकै सहज भएको छ ।