सिन्धुलीमाढी। सिन्धुलीमा विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस २०८० मनाईएको छ । जिल्लास्तरीय मुल समारोह समितिका अनुसार १९ गते रक्तदान कार्यक्रम, २० र २१ गते व्याडमिन्टन प्रतियोगिता र २२ गते जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा विशेष कार्यक्रम आयोजना गरी मनाईएको हो।

निजामती सेवा दिवसको समापन समारोहका प्रमुख अतिथी कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले जनताको सेवामा खटिएका राष्ट्र सेवकहरू राजनीतिक पार्टिप्रति उन्मुख नभई तटस्थ भएर जनताको सेवा गर्नुपर्ने, राजनीतिक आग्रह, पूर्वाग्रह नराखी निश्पक्ष बन्नु पर्ने जोड दिनु भयो । विभिन्न पार्टिगत ट्रेडयुनियनका कारण राष्ट्रसेवक कर्मचारीमा राजनीतिक गन्ध आएको बताउनु हुँदै कर्मचारीतन्त्र स्वच्छ, निश्पक्ष, प्रभावकारी र नतिजामुखी हुनुपर्ने बताउनु भयो।

प्रमखु जिल्ला अधिकारी तथा जिल्लास्तरीय मुल समारोह समितिका अध्यक्ष सुनिता नेपालले हामीलाई सरकारले छिटो, छरितो, सहज, सेवाग्राही मैत्री सेवा प्रवाह गराउनका लागि विश्वास गरेर पठाएको हुँदा सोही अनुरुप सेवा प्रवाहमा लाग्नु पर्ने बताउनु भयो । निजामती दिवसको अवसरमा शुभकामना दिनु हुँदै प्रजिअ नेपालले कतिपय कानूनी व्यवस्था प्रक्रियामुखी रहेपनि अबका राष्ट्रसेवकले प्रविधिमैत्री सेवा प्रवाह, सिघ्र सेवा प्रवाहमा लाग्न सबै कार्यालय तथा कर्मचारिहरूलाई निर्देशन दिनु भयो।

निजामती सेवा दिवसको अवसरमा नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा सिन्धुलीले बिरामीहरुलाई निःशुल्क रगत उपलब्ध गराउनका लागि स्थापना गर्न लागिएको रु. एक करोड रुपैयाँको अक्षय कोषमा कर्मचारी मिलन केन्द्र सिन्धुलीले २५ हजार प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय सिन्धुला डिभिजन प्रमुख र डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख कृष्ण न्यौपानेले संयुक्त रुपमा १३ हजार रुपैयाँ रेडक्रसले सञ्चालन गरेको बिरामीहरूका लागि नि:शुल्क रगत उपलब्ध गराउन स्थापित एक करोड कोषमा सहयोग गर्नु भएको छ । त्यस्तै, कारागार कार्यालय सिन्धुलीमा रहेका कैदीबन्दीहरूको सीप मुलक आयआर्जनका लागि कर्मचारी मिलन केन्द्र सिन्धुलीको तर्फबाट २५ हजार रुपैयाँ बराबरको एक सेट लुगा सिलाउने मेशिन प्रदान गरिएको छ।

ब्याडमिन्टनमा पदमको जोडि बन्यो विजेता

निजामती सेवा दिवसको अवसरमा निर्धारित कार्यक्रमहरूमध्ये रक्तदान कार्यक्रम हुन नसकेको मुल समारोह समितिका अध्यक्ष सुनिता नेपालले बताउनु भयो । जिल्ला व्याडमिन्टन कभर्ड हलमा भदौ २० र २१ गते सञ्चालित व्याडमिन्टन प्रतियोगितामा जिल्ला मालपोत कार्यालयका लेखापाल पदम मगरको टिम विजयी भएको छ । उपविजेता विनोद भण्डारीको टिम र तेस्रो स्थान सुवाश लोप्चनको टिमले प्राप्त गरेका छन्। व्याडमिन्टन प्रतियोगिताका विजेताले नगद १५ हजार रुपैयाँ, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । दोस्रो हुनेले नगद १० हजार रुपैयाँ, सिल्ड, मेडल र प्रमाणपत्र त्यस्तै तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ र सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

निजामती सेवा दिवसलाई सफल बनाउन कमलामाई नगरपालिका, घ्याङलेख गाउँपालिका, कर्मचारी मिलन केन्द्र सिन्धुली, लेखा समुह सिन्धुली लगायतको प्रायोजन रहेको थियो ।