खाङसाङ। फिक्कल गाउँपालिकाले गाउँपालिकाका उत्कृष्ट सासु बुहारीलाई सम्मान गरेको छ। बुधबार गाउँपालिकाले एक कार्यक्रमबीच गाउँपालिकाको न्यायिक समितिले गाउँपालिकाभरीबाट छानीएका उत्कृष्ट सासु बुहारीलाई सम्मान  गरेको हो।

लैङ्गिक हिंसा रहित सभ्य समाज निमार्ण गर्ने र लैङ्गिक विभेदलाई निरुत्साहित गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले बताउनु भयो। उहाँले पितृ सतात्मक संरचनाको कारण विभेद कायमै रहेको र गाउँघरमा सासु बुहारीबीचको सम्बन्ध समेत नराम्रो हुने हुँदा महिला महिलाबीच नै विभेदको अवस्था आउनुले लैङ्गिक हिंसा तथा सामाजिक दुर्व्यवहार बढ्न प्रसय मिल्ने भएकाले त्यस्तो हुन नदिन र सासु बुहारीबीचको सम्बन्ध आमाछोरी समान कायम गराउन यस कार्यक्रमको थालनी गरिएको भनाई रहेको छ।

गाउँपालिकाको न्यायिक समितिमा परेका कतिपय मुद्दाहरूलाई यस किसिमको कार्यक्रमले अन्त गर्ने भएकाले वडा सचिवहरूको संयोजकत्वमा सबै वडाका महिला स्वास्थ्य स्वयम सेविकाहरूमध्ये ९ जना, विद्यालयका प्रधानाध्यपकहरू, स्वास्थ्य संयोजक, महिला सहकारीका पदाधिकारीहरू, आमा समूहका अध्यक्षहरूसहितको समिति र वडा अध्यहरू सल्लाहकार रहेको समितले सिफारिस गरी पठाएका उत्कृष्ट सासु बुहारीहरूलाई गाउँपालिकाले सम्मान गरेको हो।

यसरी सम्मानीत हुनेमा फिक्ला गाउँपालिका वडा नं. ३ का जुनमाया मगर र गिता पुलामी मगर, वडा नं. ४ का गंगामाया भुजेल र विमला भुजेल, वडा नं. ५ का विष्णुमाया खड्का र खेमकुमारी पहाडी र वडा नं. ६ का धनमाया राई र मिलन कुमारी राई रहेका छन्। उत्कृष्ट सासु बुहारीहरूलाई गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्की तथा उपाध्यक्ष पार्वती सुनुवारले दोसल्ला ओढाएर अविर लगाई सम्मान गर्नु भएको हो।